Wednesday, February 18, 2015

अधिँया गरेर परिवार पाल्छु, छोराको उपचार कसरी गरौँ ?
विराटनगर, ६ फागुन(ओएनएस) :  आफ्ना सन्तान स्कुल गएको, पढेर ठुलो मान्छे बनेको हेर्ने चाहना जो कोही अभिभावकको हुन्छ । यस्तै चाहना छ, मोरङको लेटाङ भोगटेनी नगरपालिका ७ किर्तमान टोलकी रत्नाकुमारी राइको पनि । तर, आर्थिक अभाव भएका कारण उनको चाहना पुरा हुन सकेको छैन् ।
मानसिक रोगबाट पीडित उनको ११ बर्षका छोरा उमेश राईको उपचार गर्न नसक्दा उनको चाहना पुरा नभएको हो ।
छोरा निको भएर पढ्न स्कुल गएको हेर्न चाहन्छिन उनी । तर, उपचार गर्ने रकम नहुँदा बिरामी भएको ८ बर्ष सम्मपनि छोरो स्कुल जान थालेको हेर्न पाएकी छैनन् ।
साना उमेरका बालवालिकाहरुलाई भविष्य उज्वल बनाउन भन्दै अभिभावकहरुले स्कुल  पठाउँछन् । पढ्न पाउने बालवालिकाको अधिकार पनि हो । तर, लेटाङ किर्तीमान टोलका उमेशको दैनिकी भने फरक छ । ११ बर्षका उमेश राई सानै उमेरदेखी मानसिक सन्तुलन गुमेका कारण स्कुल जान पाउदैनन् ।
अति विपन्न परिवारका राईलाई उपचार गर्नकालागि परिवारले आँटपनि गर्न पनि सकेको छैन् । रत्नकुमारी राईका छ सन्तान मध्ये साइलो छोरा उमेशले उपचार पाएका छैनन् । उनको परिवारले उपचार गर्न त परै जाओस अन्य ५ सन्तानलाई पालनपोषण गर्न समेत मुस्किल पर्छ ।
आर्थिक अभावका कारण छोराको उपचार गर्न नसकेको आमा रत्न बताउँछिन् । तिनबर्षको उमेरमा मानसिक समस्या देखा परेपनि उनको उपचारकालागि कतै लैजान नसकेको रत्नले बताइन् । विगतलाई सम्झदै उनले भनिन्, ‘ सानैमा बिरामी भएको थियो । त्यतिबेला लेटाङ बजारमा भएको जनसेवा क्लिनिकमा लगेका थियौ । धेरै पैसा लिएर औषधी दियो । औषधी खुवाएँ तर निको भएन् ।’
umesh rai1औषधी उपचारकालागि लेटाङ बजारदेखी बाहिर लैजान नसकेको उनको परिवारले धामी झाक्रीँका लागि भने धेरै ठाँउ डुलाएका छन् । ‘धामीले पाँच बर्षको हुँदा धामी बन्छ भन्थे ।’ उनले थपिन्, ‘११ बर्ष भै सक्यो धामी त के केही बोल्दैन् पनि ।’ धामीले जंगली लागेको भन्दै झारफुक गर्ने गरेपनि अझै निको नभएको रत्नाले बताइन् ।
उपचार गर्ने पैसा नभएका कारण झारफुक कै भरमा छन् उनी । धामीले पटक-पटक धामी निस्कन्छ भन्दै आश्वासन दिए । तर, उनलाई पत्यार लागेको छैन् । धामीको विश्वास नगरेर उपचार गर्न लैजाँउ भन्दा उपचारमा लाग्ने पैसा छैन् उनीसँग । भावुक हुँदै उनले भनिन्, ‘छ वटा छोराछोरी छन् । आफ्नो खेती छैन् । अधिँया खेती गरेर परिवार पाल्नु पर्छ । छोराको उपचार गर्ने पैसा कहाँबाट ल्याउनु ।’
मानसिक रूपमा विछिप्त बालक प्रष्ट बोल्न समेत सक्दैनन् । उनको भाव कसैले बुझ्दैन् । उमेश बेला-बेला लामो सास फेर्छन् र रूने मात्र गर्छन् । घरमा बस्नै नमान्ने उनलाई भात खानेबेला खोजेर ल्याउनु पर्छ । आमाले भनिन्, ‘भात खानपनि जान्दैन आफै खुवाई दिनु पर्छ ।’
आफ्नो सन्तानको उपचार गर्न नपाएको पिडाले हरक्षण सताउँछ उनलाई । पैसा नभएका कारण पिडा सहेर बसेकी छिन् उनी । उनले भनिन्, ‘ उपचार गर्ने पैसा त म सँग छैन् कसैले सहयोग गरिदिए मेरो छोराले नयाँ जीवन पाउँथ्यो ।’