Saturday, November 21, 2015

जिउँदो सन्तानलाई चिहानघारीमा फालेपछि…

 child at hospital with no parentsविराटनगर, ५ मंसिर2072  (ओएनए) : भनिन्छ, सन्तानका लागि आफ्ना आमा-बाबु ईश्वर समान् हुन्छन् । आफ्नो सन्तान जस्तो जन्मे पनि उनीहरूलाई माया लाग्छ । त्यही भएर सन्तानका लागि आमा-बुबाले जस्तोसुकै त्याग पनि गर्छन् । तर, यो भनाइ सबैका लागि समान रूपमा लागू नहुन सक्छ । समाजमा सन्तानलाई बेवारिसे छाडेर हिड्ने आमा-बाबुको कमी छैन । आफ्नो जिउँदो सन्तानलाई चिहानघारीमा फाल्ने आमा-बाबुपनि भेटिन्छन् समाजमा ।
पथरीको जंगलमा अलपत्र अवस्थामा भेटिएका एक बेवारिसे बालकलाई हेर्नेहरू यस्तो सोच्न बाध्य हुन्छन् । बोल्न नसक्ने र शारीरिकरूपमा अशक्त देखिने ती बालकलाई आफन्तले जंगलको चिहानघारीमा फालेपछि अहिले उनी साहराको खोजीमा छन् । गत कात्तिक १७ गते पथरीको जंगलबाट उद्धार गरिएका करिब पाँच वर्षीय बालकलाई खोज्न कोही पनि आएका छैनन् । कोशी अञ्चल अस्पतालको बच्चा वार्डमा बालक अलपत्र परेका हुन् ।
जंगलको चिहानघारीमा अलपत्र बालक देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जिल्ला बालकल्याण समितिसँग समन्वय गरी उपचारका लागि अञ्चल अस्पतालमा ल्याएको थियो । उपचारमा ल्याइएका ती बालक अहिले स्वस्थ्य भएका छ्न् । तर, हालसम्म अभिभावकको टुंगो नलागेकाले बालकलाई कसको जिम्मा लगाउने भन्ने समस्या परेको अस्पतालले जनाएको छ ।
त्यसो त पूर्व क्षेत्रमा अनाथ आश्रम पनि नभएका होइनन् । तर, बालक बोल्न र हिँडडुल गर्न नसक्ने भएका कारण हालसम्म कसैले पनि लैजान मानेका छैनन् । डोनेसनको भरमा चलेका अनाथ आश्रमले लैजान नमानेपछि बालक अस्पतालमै बेवारिस बनेका हुन् ।
गत १७ गते अस्पतालमा ल्याइएका ती बालकलाई कसैले नलगेपछि हालसम्म बच्चा वार्डमै राखिएको अस्पतालकी नर्स रञ्जिता हुमागाईले बताइन् । उनले भनिन्, ‘कसैले लैजान मानेका छैनन् । त्यही भएर यहीँ राखेका छौँ ।’
कालो वर्णका ती बालकको कम्मरमुनिको भाग सुकेको देखिन्छ । उनी बोल्न र हिँडडुल गर्न नसक्ने अवस्थामा छन् । सुरूमा उनलाई एक वर्षको भनेर अस्पतालमा भर्ना गरिएको भएपनि शारिरिक बनावट हेर्ने हो भने पाँच बर्षको जस्तो देखिने अस्पतालले जनाएको छ । http://www.onsnews.com/child-thrown-by-his-parents/